“गाँजाको कारोवार गर्ने अखडा नबनोस टोखा”


२०६८ भाद्र १४ टोखा सुबि श्रेष्ठ पहिले हाम्रा बाजेबराजुको पालामा टोखा चाकु र विस्केट जात्राले प्रसिद्ध थियो देशै भर । पुर्खाहरुले गरेका वीरता र पौरखले आर्जित प्राचीन शहर टोखा आफ्नै छुट्टै अस्तित्व रहेको नगरी हो । हिजो आज बिस्तारै यसको प्रसिद्धि,पहिचान र महत्व धमिलिदै गइरहेको छ । सकारात्मक पक्षले भन्दा नकारात्मक पक्षले टोखाको प्रतिस्थामा आँच आइरहेको छ । आजका नयाँ पुस्ताले आफ्ना अग्रजहरुको मान–सम्मानलाई माटोमा विलिन गर्ने चेष्टा गरिरहेको छ । 

आजका शिक्षित नव युवाहरु उत्पट्याङ्ग काम गर्नमा तल्लिन बन्दै गइरहेका छन् । आफ्नो जीवनलाई धुँवामा उडाई रहेका छन् । उच्च शिक्षाका लागि बाहिर अध्ययन गर्न गएका युवाहरु त्यहाबाट उच्च शिक्षा भन्दा पनि बिकृतिजन्य सिप र सत्कार लिएर धमाधम भित्रिरहेका छन् ।
यहाँ कुरा गर्न लागेको विषय भनेको गाँजाको हो । हामी मध्य धेरैलाई थाहा भएको कुरा नै हो । अहिले विस्तारै टोखामा गाँजाको सेवन गर्ने कुलतमा लाग्नेहरुको संख्या बढिरहेको छ । त्यसो त बाहिरबाट टोखामा आएर गाँजाको सेवन गर्नेको संख्यामा पनि उत्तिकै नै बृढि भइरहेको छ । उनीहरुले टोखालाई गाँजाको कारोवार गर्ने अखडाको रुपमा बिकसित गर्दै छन् । गाँजाका कारण दिन प्रतिदिन टोखाको छबिमा कालो धब्बा लागि रहेको छ । यति सम्म कि बाहिरका मानिसहरु टोखामा आएर गाँजा तान्न जाने कुरा गर्छन् । उनिहरु टोखामा गाँजा छ्यास–छ्यास्ती पाउने कुरा गर्छन् तर यहाँ भने त्यस्तो कुनै उत्पादन गरिएको गतिविधि देखिदैन, फेरि पनि उनिहरु किन यस्तो कुरा गर्छन् त ? कसले गरिरहेको छ त त्यस्ता गैरकानूनी कार्यहरु हामी यस बारेमा अनभिज्ञ नै छौँ । बाहिर हामी यस्तो नकारात्मक कुराले प्रचार भई रहेका छौँ तर हामीलाई यी कुराको कुनै अत्तोपत्तो समेत छैन ।

कुनै नव युवा आगन्तुक आएर खुल्ला रुपमा सोध्ने गर्छन्–सुन्नुस त यहाँ गाँजा कहाँ पाइन्छ ? निर्लज भएर हामीसँग गाँजा कहाँ पाईन्छ भनेर सोध्छन् । यसै प्रसंगमा तपाईलाई एउटा घटना सुनाउन मन लाग्यो जुन यो लेखकसँग भएको थियो । कुरा आज भन्दा करिव ४ वर्ष अगाडिको हो । म घरमा एक्लै बसि रहेको थिएँ । त्यो दिन शनिवार भएकोले विद्यालय बन्द थियो त्यसैले घरमै थिए । बाहिरबाट कसैले मेरो घरमा आएर बाजे... बाजे भनेर बोलाएको आवाज सुनेँ । एकछिन त म अल्मलिए किन कि मेरो घरमा कोही पनि बुढो मानिस थिएन । सायद कोही झुकिएर मेरो घरमा आएको होला भनेर तल आएको थिए, त्यो ब्यक्ति मेरो घरको एक तल्ला माथि आई पुगि सकेको रहेछ । मैले उसलाई चिनिन चिनोस पनि कसरी पहिले कहिले पनि देखेको भए पो चिन्नलाई ।। मैले ऊ सँग सोधेँ– कसलाई खोज्नु भएको.... ? उसले भन्यो यहाँ गाँजा बेच्ने बाजे कहाँ जानु भयो एक चोटी बोलाई दिनुस् न  ‘ यो कुरा सुन्ने बितिकै म अच्चममा परे अनि रिस पनि उठ्यो मैले भने यहाँ कोही बाजेसाजे छैन...। आयिन्दा यसरी अर्काको घरमा आएर वाहियात कुरा गर्ने होईन...यी र यस्ता अनेक नाना थरीका गालि दिए मैले ...। यस्ता कैयौंसँग भै सक्यो होला अब भन्नुस यस घटनाले हामीलाई कस्तो सन्देश दिएको छ । उनीहरुको नजरमा टोखाको घरघरमा गाँजा पाईन्छ भन्ने सन्देश गैरहेको होईन ? होईन भने किन ती शिवका चेला गजेडीहरु हाम्रो घर–घरमा आउछन् त ? किन हामीलाई लज्जित बनाउने काम गर्छन् ? यो विषय निकै नै गम्भिर बन्दै गैरहेको छ । सके सम्म हामीहरुले यसको निर्मुलनको कार्यलाई अगाडि तड्कारो रुपमा बढाउनु पर्ने बेला भएको छ । विषलाई फैलिनु अगाबै त्यसको रोकथामको उपाय अपनाउनु नै बुद्धिमानी हुनेछ । होईन तीनिहरु जेसुकै गरोस् भनेर छोडी दिने हो भने एक दिन हाम्रो अस्तित्व माथि नै प्रश्न चिन्ह खडा हुने दिन आउन कति पनि बेर लाग्ने छैन । यस विषयमा हामी सबै टोखालीहरुले छलफलको विषयवस्तु बनाउन टड्कारो आवश्यक भैसकेको छ । 

समय बदलिदो छ र समय सँगै मानिसका इच्छा र चाहना पनि बदलिरहेको हुन्छ । त्यही बदलिदो समय सगै हाम्रा टोखाका युवाहरु पनि यस्ता कुलतमा विस्तारै फसिरहेका छन् । बढी जसो टोखा बाहिर कलेजमा उच्च शिक्षाका लागि पढ्न गएका त्यस माथि पनि प्लस टुमा अध्ययन गर्नेहरुको संख्या बढी देखिन्छ । उताको सरसंगतले गर्दा बानी बसेकाहरु उनीहरुलाई यो ठाउँ निकै नै पायक भइदिएको छ । कारण टोखामा गएर गाँजा खोज्न निकै नै सजिलो छ रे किन भने यसका आसपासका छिमेकी गाउँमा सजिलो सँग पाईन्छ र त्यहाँ बाट सजिलो सँग ल्याउन सकिने कुराहरु गर्छन । यो लतमा फसेका केही मित्रहरु सँगको कुराकानिले मैले जानकारी लिएको थिए । एक जना सँग मैले सोधेको थिए तिमीहरु जहिले पनि गाँजा तान्छौ, कहाँबाट ल्याउछौ ? उसले मलाई हाँस्दै भनेको थियो झोरबाट त्यहाँ पनि पाएन भने नुवाकोट सम्म गएर ल्याउछौ । अनि मैले फेरि सोधेँ टोखामा पाईदैन त गाँजा भन्दा उसले भन्यो चण्डेश्वरीको माथिबाट पनि...उनले वास्तविक नाम चाही खुलाउन चाहेन । उनले टोखाकै बस्ती भित्रैबाट पनि यसको व्यापार हुने कुरा म सँग गरेको थियो । यी कुरा सुन्दा मलाई डर लागेर आयो कुरा यहाँ सम्म पुगि सकेको रहेछ तर हामीलाई पत्तोे नै छैन । 

भुतखेल, थरखेल, फैरचा, शाईबाबा स्कुल छेउछाउ, वँतुली, जस्ता खुला ठाउँहरुमा गाँजाको सेवन गर्ने शिवका चेलाहरु हामीले भेटाउन सक्छौँ । ती खुल्ला ठाउँहरु उनीहरुका लागि गाँजा सेवन गर्ने एउटा राम्रो स्थान भैदिएको छ । एउटा कटु यथार्थ थरखेलमा तपाई कोही पनि साँझ सात बजे तिर जानु भयो भने त्यहाँ ती शिवका परम भक्तहरु शिवको प्रसाद सेवन गरी मस्तले लठ्ठि रहेकोे भेटाउन सक्नु हुनेछ । 

यस्तै कुलत लागेकाहरु सँग सम्पर्क गरेर बाहिरका ती शिवका परम भक्त बन्न मन पराउनेहरु हाम्रो टोखामा भित्रिरहेका छन् । एक कान दुई कान मैदान भने झै बिस्तारै यस्ता व्यक्तिहरु हाम्रो टोखामा दिनप्रतिदिन बढ्दो छ । बाहिरबाट आएका तिनीहरुले खुल्लारुपमा गाँजा सेवन गरिरहेका छन हाम्रो सामु तर हामी निरीह भएर टुलुटुलु हेरी रहेका छौँ । बरु हाम्रो टोखामा रहेका शिवका चेलाहरु लुकेर शिवको प्रसाद सेवन गर्छन् तीनिहरुले जस्तो खुल्लारुपमा त सेवन गर्दैनन् । तर त्यो दिन पनि नआउला भन्न सकिन्न । पटक पटक प्रहरीले छापा मारेर गाँजाको व्यापार गर्ने र सेवन गर्नेहरुलाई पक्रेर लगेको कुरा हामी धेरै जसो लाई थाहा भएकै कुरा हो । यस कुराले पनि यसको पुष्टि गरेको छ कि टोखा अब बिस्तारै गाँजाको कारोवार गर्ने अखडाको रुपमा परिणत हुँदैछ भनेर । अब यसको रोकथाम गर्नु हामी सबै जिम्मेवार व्यक्तिहरुको कर्तब्य हो । यसलाई समयमा नै रोकथाम गर्ने कडा कदम चलाईएन भने यसले भोलिका दिनमा निम्त्याउने भयावह अवस्थाको सामना हामीले गर्नुपर्ने हुन्छ । एक चोटि सोच्नुस् त त्यो क्षण हामीलाई कस्तो हुनेछ ? हामी सबै एकजुट भएर यस्ता कुलतलाई निर्मुल पार्ने महान तथा शुभ कार्यमा सबै एकजुट भई आजै देखि लागौँ । हाम्रा सन्ततिहरु कुलतमा लागेर आफ्नो अमुल्य जीवनको बर्बाद हुन बाट बचाँऊ र टोखालाई यस्तो गाँजाको अखडामा परिनत हुनबाट रोकौँ । समुन्नत समाज र समुन्नत भविष्यको बाटोमा हामी हातेमालो गर्दै सबै अगाडि बढौं। यही नै समयको माग हो ।



1 Comments

  1. स्थानिय स्तरबाट एउटा शसक्त समुहको निर्माण गरी यस्ता गाँजाको सेवन गर्नेहरुलाई तह लगाउनु पर्छ । आउँ हामी हाते मालो गर्दै यसलाई निवार्न गर्ने काम तर्फ लागै ।

    ReplyDelete

Post a Comment

Previous Post Next Post