टोखाका रहस्यमय भुतहरु भाग–२


वैशाख २१ गते बुधबार–टोखाका रहस्यमय भुतहरुका बारेमा हामीले यहाँ समक्ष केही दिन अगाडी देखि चर्चा गर्दै आई रहेकाछौँ । कुनै समयमा टोखामा प्रत्यक्ष रुपमा भूतहरु देख्न पाइथ्यो रे । हामीले हाम्रा अग्रजहरुबाट यस्ता भूतहरुको कथाहरु सुन्न पाउछौँ । हिकमत डंगोलले लामो समयसम्म खोज अनुशन्धान गरी २०५८ चैत्र महिनाको अंकको साधना म्यागेजिनमा प्रकाशित गरेका केही भूत सम्बन्धित कथाहरु यहाँहरु समक्ष प्रस्तुत गर्दछौँ ।
सेतो घोडासित जम्काभेट
       केही वर्षअगाडि मात्र टोखामा नाटक देखाउन आएका भक्तपुरका जुजुमान श्रेष्ठ सेतो घोडासंग जम्काभेट भएको अनुभव सुनाउँदै भन्छन्–“ म २०३५ सालतिर टोखाको लाछीमा नाटक देखाएर राती सुत्नका लागि साथीको घरमा एक्लै आउँदै थिएँ । टोखाको मूल गेटमा आइपुग्दा सुनसान भई सकेको थियो । एक्कासि मेरो अगाडी त एउटा सेतो घोडा दौडँदै कतिर आइरहेको थियो । त्यस घोडा मेरो आफ्नै साथी काजीमानको जस्तो लाग्यो ।

           मैले साथीलाई टोखामा नाटक देखाएर आउँछु भनी खबर गरेको थिएँ । त्यसैले उसले मलाई घरमा छिटो आउनको लागि त्यो सेतो घोडा पठाइदिएको जस्तो लाग्यो । आफ्ना साथीको घोडा होला भनी सम्झेर त्यसमाथी चढें । मैले अलिकति के कुदाउन लागेको थिएँ, घोडाले मलाई सीधा बाटोमा नलगी सीधै भूतखेलको मसानघाटमा लान खोज्यो र एक्कासि बीचबाटोमा पुगेर बोल्न थाल्यो–“खुकुरी र अचानो तयार पार, खुकुरी अचानो तयार पार...।”
        त्यो घोडाले मान्छेले जस्तो बोले पछि मेरो होस नै गुम्न पुग्यो । यो घोडा पक्कै  प्रेतात्मा हुनुपर्छ भनी घोडाबाट फुत्त हामफालेर नजिकको धानबारीमा लुक्न गएँ । घोडा आफ्नै गतिमा कुडेर मसानकालि मन्दिरको मसानघाटतिर गयो । फेरी त्यो घोडा फनक्क फर्केर म भएतिर आयो । मचाहीँ डरले डगुर्दै, लुक्दै टोखा सहरमा आएर सुतें । साँच्चै त्यो घोडाले मसानघाटमा लगेको भए पक्कै पनि मलाई भोग दिन्थ्यो होला । यसरी म कालको मुखबाट जोगिएँ ।
अर्को नयाँ कथाको साथमा हामी छिटै नै आउदै छौँ  प्रतिक्षा गर्नुस...

Post a Comment

Previous Post Next Post